तरकारी बजारमा कालो बजारी,मूल्य आकाशियो सरकार मौन
कलाखबर संवाददाता,११ भदौं– काठमाण्डौंर । अहिले बजारमा तरकारीको मूल्य हवात्तै बढेको छ । तर यो तरकारीको अभाव नभएर खुलेआम कालो बजारी भएको हो । अहिले बाढी पहिरो, डुबानका साथै कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञा पनि तरकारीको मूल्य वृद्धिको कारण बनेको व्यापारीहरु बताउँछन्। कालिमाटी फलफूल तथा तरकारी बिकास समितिको तथ्यांक अनुसार होलसेको तुलनामा खुद्रा मूल्य बढी छ। होलसेलमा तरकारीको मूल्य घटेको देखिए पनि खुद्रामा भने मूल्य बढेको नै देखिएको छ। होलसेलमा सस्तो भए पनि आफूहरुले ढुवानी, भाडा लगायत सबै जोड्दा तरकारी भएको व्यापारीहरु बताउछन् ।
किसान र व्यवसायीबीच सोझो सम्पर्क नहुनु पनि मूल्य वृद्धि हुनुको मूख्य कारण भएको उनीहरुको भनाइ छ। ढुवानी लगायतका कारणहरु देखाएर खुद्रा मूल्य बढाए पनि कालिमाटी बजारका खुद्रा व्यापारीहरुले पनि महंगो मूल्यमा नै तरकारी बिक्री गरिरहेको पाइएको छ। कालिमाटी बजार समितिका बोर्ड सदस्य नविन शाहाले उपभोक्ताले सधै भोग्दै आएको महंगीको समस्यालाई समाधान गर्न सरोकारवालाहरुले समय(समयमा अनुगमन गर्नुपर्ने बताए। ‘माग र आपूतिको आधारमा मूल्य निर्धारण हुने हो’ उनले भने, ‘तर मूल्य वृद्धि हामीले हरेक वर्ष खेप्दै आएका छौँ।
होलसेलमा सस्तो भए पनि खुद्रा व्यापारीले ढुवानी, लेबर चार्ज लगायत जोडेर आफ्नै मूल्य राखेर बेच्छ। त्यसका लागि सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ। उनका अनुसार उपभोक्ताहरुले पनि स्वयम् जागरु हुन जरुरी छ। उपभोक्ताहरुले व्यापारीलाई किन, कसरी लगायतका प्रश्न सोध्न सक्ने र उनीहरुबाट आफूले खरिद गरेका सामानको बिल माग्ने बानी बसाल्नु पर्ने उनको भनाइ छ। ‘होलसेलबाट खुद्रा पसलसम्म व्यापारीले बिक्री वितरण गर्दा उपभोक्ताले खरिद गर्दा बिल लिनुपर्यो। यसमा स्वयम् उपभोक्ता जागरुक हुनुपर्यो। किन कसरी भयो भन्ने प्रश्न गर्ने बानी बसाल्नु पर्यो। सबैले आ–आफ्नो ठाउँबाट जागरुक भएर अगाडी बढ्यौँ भने महंगी गर्नेलाई निरुत्साहित गर्छ भन्ने लाग्छ’, उनले भने।
यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार तीनकुने, जडीबुटी, भक्तपुरको चारदोबाटोलगायत क्षेत्रमा तरकारीको होलसेल पसलमा निरीक्षण गरेको थियो। होलसेलमा तरकारीको मूल्य ठिकै भए पनि बजारसम्म तरकारी आइपुग्दा महँगो भएको विभागले जनाएको छ। होलसेलमा टमाटर प्रतिकेजी ७० रुपैयाँमा बिक्री भइरहेको छ भने खुद्रा व्यापारीहरुले प्रतिकेजी १२० रुपैयाँमा बिक्री गरिरहेका छन्।
आलु अहिले प्रतिकिलो ८० रुपैया पुगेको छ । यस्तै होलसेलमा प्रतिकेजी मुला ३५ रुपैयाँमा बिक्रि भइरहेकोमा खुद्रामा भने प्रतिकेजी सय रुपैयाँमा बिक्रि भइरहेको छ। खुद्रामा प्रतिकेजी कागती २५० रुपैयाँ, आफू ७० रुपैयाँ, भिण्डी १०० रुपैयाँमा बिक्रि भइरहेको छ। तर कानुन अनुसार खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी जोडेर बिक्री गरिएमा त्यसलाई कालो बजारी मानिन्छ। यसरी मूल्य दोब्बर तेब्बर बढेर बिचौलिया मोटाए पनि सरकार भने मौन बसेको छ ।