Logo

उच्च अदालतका दुई न्याधीशमा पनि कोेरोना पुष्टि


कलाखबर संवाददाता,१० भदौं – विराटनगर । विराटनगरस्थित उच्च अदालतका दुईजना कर्मचारीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार ४८ वर्षीय एक न्यायाधीशसँगै दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मंगलबार साँझ न्यायाधीश र उनको सवारी चालकमा संक्रमण देखिएको सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार सवारी चालकमा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि न्यायाधीश उनका अंगरक्षक र सवारी चालक तीनै जनाले भदौ ७ गते आइतबार स्वाब परीक्षणका लागि दिएका थिए। कोशीमा स्वाब परीक्षण गराएकामध्ये मंगलबार साँझ दुई जनाको पोजेटिभ र न्यायाधीशका अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको छ।

न्यायाधीशको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र कोरोनाको लक्षण पनि नदेखिएको बताएका सुवेदीले न्यायाधीश हाल घरमा सुरक्षित बसिरहेको उल्लेख गरे। अर्कोतर्फ न्यायाधीशका सवारी चालकलाई भने उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको छ। न्यायाधीशमा संक्रमण देखिए पनि उच्च अदालतको कामकार्वाहीमा अवरोध नहुने सुवेदीले जानकारी दिए।

यसअघि विराटनगरस्थित मोरंग जिल्ला अदालतमा समेत न्यायाधीश र अर्का एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो। जसका कारण अदालतको काम कार्वाही करिब ६ दिन अवरोध हुन पुगेको थियो। यससँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या ८ सय ५५ पुगेको महानगर जनस्वास्थ्य महाशाखाले जनाएको छ। महानगरबाट हालसम्म २ सय ६५ जना निको भएको रमेश कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्