Logo

आछामको धानखेतमा गृहमन्त्रीको कार्यक्रम


कलाखबर संवाददाता,८ भदौ–काठमाण्डौं । अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको घटनामा गृह मन्त्रालयले घुमाउरो पारामा गल्ती स्वीकार गरेको छ।

गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईद्वारा जारी विज्ञप्तिमा समाचारको खण्डन गरिए पनि भनिएको छ, ‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाईएको सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिवद्धता व्यक्त गर्दछौँ।’

गृह मन्त्रालयले कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको भन्दै पन्छिन खोजेको देखिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । न कि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो ।

राहत वितरणको क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन् ।’
अछामको रामारोशन गाउँपालिकामा आएको बाढी र त्यसले पुर्याएको मानवीय र भौतिक क्षतिपछि प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीयलाई सम्बोधन गर्न आयोजना गरिएको कार्यक्रमको तस्विरमा धानबारी माडिएको देखेपछि सामाजिक सन्जालमा भाइरल बनेको थियो।

बाढी आएको पर्सिपल्ट भदौ ५ गते गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावलसहितको टोली हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगेका थिए।

स्थानीय कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका(५ सैनीबजारमा १७ जना बेपत्ता भएका थिए। २५ घर तथा पसल बगेको थियो। बाढी भदौ ३ गते आएको थियो। लहलहाइरहेको धान माडेर गृहमन्त्रीसहितको टोली कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस्