Logo

सुनसरी इटहरी उपमहानगरपालिकाको दुई वडा सील


कलाखबर संवाददाता,८ भदौ–विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको दुईवटा वडा कोरोना भाइरस कोभिड १९ संक्रमणको उच्च जोखिमका कारण सिलबन्दी गरिएको छ। उपमहानगरपालिकाको मेयर द्वारिकालाल चौधरीका अनुसार वडा नम्बर ६ र ९ मा भाइरस संक्रमितहरुको स्रंख्या बढ्दै गएको कारण सिलबन्दी गरिएको हो। इटहरी उपमहानगरका नगरप्रमुख चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको बैठकले दुईवटामा सिलबन्दीको निर्णय गरेको हो।

वडा नम्वर ६ र ९मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले जानकारी दिए। ती वडामा अतिआवश्यक सेवा र पसल बाहेक सबै सेवा र हिँडडुल पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ। इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा ८ जना संक्रमित छन्।

यसैगरि बैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय गरिएको छ। यसैगरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्बन्धित मन्त्रालय र निकायसँग आब्हान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात, बजार, संघ सस्था बन्द अवस्थामा रहेका छन्। इटहरीमा हालसम्म हालसम्म ८० जना संक्रमित पुगेको मेयर चौधरीका प्रेस सल्लाहकार लिलाराज भट्राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्