Logo

नेपाली काँग्रेस संघठनका आदिबासी जनजातिद्वारा राष्ट्रिय झण्डा जलाउनेको बचाउ


कलाखबर संवाददाता,८ भदौ–काठमाण्डौं । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय विभागका सदस्यसमेत रहेका जगतबहादुर बरामसहित नेतृत्वको नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० सहितका आदिवासी–जनजाति संगठनले हालै सार्वजनिक भएको एक गीतको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको घटनाको बचाउ गरेका छन्। भदौ १ गते मंगोल ग्याल्ज ली नाम गरेका र्यापरले ‘देशद्रोही’ नामक गीत युट्युब मार्फत सार्वजनिक गरेका थिए, जसमा नेपालको राष्ट्रिय झण्डा जलाइएको थियो र घृणा तथा आपसी विभाजनलाई बढावा दिने खालका शब्द प्रयोग भएको थियो।

त्यसपछि गायकसहित १० जनालाई पक्राउ गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा गीत बनाइनुका पछाडि राजनीतिक स्वार्थ रहेको निष्कर्ष निकालेको थियो। सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल आदिवासी जनजाती महासंघसहित नौ संगठनले आइतबार राति विज्ञप्ति निकालेका हुन्। उनीहरुले राष्ट्रिय झण्डाको विगतमा भएका अपमानलाई बेवास्ता गरी अहिलेको एकल घटनालाई मात्रै निशाना बनाएको आरोप विज्ञप्तिमा लगाएका छन्।

विज्ञप्तिमा नेफिनका अध्यक्ष बरामसहित तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका महासचिव महित कुमार तामाङ, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, किरात राई यायोक्खाका महासचिव जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाको हस्ताक्षर छ। नेफिनको नेतृत्वमा अहिले कांग्रेस अन्तर्राष्ट्रिय विभागका सदस्य जगतबहादुर बराम रहे पनि सो संस्था कुनै एक राजनीतिक पार्टीसँग निकट भने होइन ।

यसमा आबद्ध विभिन्न आदिवासी संगठनबाट आलोपालोमा नेतृत्व हुने गर्छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल देशको राष्ट्रिय झण्डा जलाएको क्लिपसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा अघि उल्लेख छ, ‘अपुरो र अधुरो वर्तमान नेपालको विभेदकारी संविधानले राष्ट्रिय जनावर–गाई, राष्ट्रिय रंग–सिम्रिक, राष्ट्रिय फूल–लालीगुराँस, राष्ट्रिय पक्षी– डाँफे हुने व्यवस्था गरेको छ। तर, ती चिन्हहरूले नेपालका जात, जाति, भाषा, धर्म, संस्कृति, भूगोलले सिँगारिएको विविधतायुक्त र बहुल राष्ट्रियतालाई समेटेको छैन।

‘राजाकालीन, राणाकालीन हुँदै पञ्चायतकालीन शासन व्यवस्थासम्म लामो समय एकात्मक, केन्द्रीकृत, हिन्दू राज्य सञ्चालनले स्थापित गरेको एकलकाटे विम्ब र प्रतीकहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बद्लिनुपर्छ’ भन्ने सवाल आदिवासीलगायतले निरन्तर उठाउँदै आएको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा ‘झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउने’ बाट देशमा अहिले अवस्था सिर्जना भएको दाबी गरिएको छ। ‘इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू भएको कुरा सबैमा जगजाहेर नै छ।

पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटिलगायतबाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिनु र यो पछिल्लो झण्डा जलाउने घट्ना सबै निन्दनीय कार्य हुन् जसको हामी खेद व्यक्त गर्दछौँ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ। सबै घटनाका सम्बन्धमा राज्यले सबैलाई समान ढङ्गले कारबाही गर्नुपर्नेमा पछिल्लो घटनाका दोषीलाई मात्र कारबाही प्रक्रिया अगाडि बढाउनु राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार देखाएको आरोप उनीहरुले लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘राज्य सरकार र जिम्मेवार नागरिकले विभेद, अपमान, अत्याय, अत्याचारको प्रतिकारको रूपमा प्रकट हुने जुनसुकै विषय र घट्नालाई गम्भीरतापूर्वक लिएर सबै वर्ण, वर्ग, नश्ल, जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकको भावनाको सम्मान हुने र प्रतिविम्बित हुने गरी राष्ट्रिय चिह्नहरूको नयाँ निर्माण नगरेसम्म समाजमा द्वेष र घृणा फैलाउने अतिवादी तत्वहरूले ठाउँ पाइरहने समेत ध्यानाकर्षण गर्न गराउन चाहन्छौँ।’ विज्ञप्तिमा कोभिड–१९ विरुद्ध सबै एकजुट हुन अपिल समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्