सुदुरपश्चिममा विशेष पर्वको रुपमा मनाइने यो बर्षको गौरा पर्व पनि कोरोनाको प्रभाव

कलाखबर संवाददाता,७ भदौ – काठमाण्डौं । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि गौरा पर्व शुरु भएको छ । सुदुरपश्चिममा विशेष पर्वको रुपमा मनाइने यो बर्षको गौरा पर्व पनि कोरोनाले प्रभाव पार्ने भएको छ । हिन्दु नारीहरुको महान चाड तीनको रौनक्ताहीन आज समापन भएसँगै फेरि आईतबारबाट गौरा पर्व सुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् ।
यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । विगतमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहे पनि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण महिलाले घरपरिवारका सदस्य मिलेर गौरा भित्राएका छन् । गौरा पर्वको महत्वपूर्ण दिन अष्टमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर नाच्ने गर्दछन् ।हिमालयकी छोरी पार्वतीले शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको भण्डारीको भनाइ छ ।
पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् । व्रत बसेको अठेबालीका दिन महिलाले गौरादेवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । धुमारी र ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले ठाडो खेल र देउडा खेलेर धुमधामसँग मनाउने गर्छन् । गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ ।
यस बेलासम्म महिलाहरु निराहार हुन्छन् र कसैले फलाहार गर्छन् ।यसअघि महिलाहरुले आफना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेबालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । बर्खे खेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यस वर्ष विदेशबाट फर्कनेहरु अगाडि नै घर फर्के पनि गौराको रौनक भने छैन ।