यो बर्षको तीजमा सामुहिक खानपान तथा भीडभाड नगर्न आग्रह

कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । यो बर्षको हरितालिका तीज गत बर्षझै रौनक नहुने भएको छ । महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेका हिन्दु नेपाली नरीहरुका लागि तीज पर्वमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई अनुरोध गरेको हो ।
नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गर्नुभएको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महिनामा पर्ने कुशेआँसी तथा हिन्दू महिला दिदीबहिनीको महान पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ ।
यसैगरी ललितपुर महानगरपालिका–२४ ले आ–आफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ । वडाध्यक्ष दिनेश कार्कीले सोमबार एक सूचना जारी गरेर नागदहमा प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन मेला लाग्ने गरेकाले यस वर्ष नागदहस्थित ऋषि मन्दिर बन्द हुने हुँदा आ–आफ्नै घरमा बसेर तीज र पञ्चमी मनाउन महानगरवासीलाई आग्रह गर्नुभयो । यो बर्ष काठमाण्डौं उपत्यकाको सबैभन्दा ठूलो मन्दिर पशुपति पनि अहिले सम्म खुल्ने कुनै संकेत छैन ।