Logo

अख्तियार प्रमुख नियुक्तिमा केपी ओली,प्रचण्ड र शेरबहादुर देउवाको अशंबन्द


कलाखबर संवाददाता,१ साउन–मोरङ्ग । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीन पदाधिकारीमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच भागवण्डा हुने भएको छ। अख्तियार लगायतका विभिन्न संवैधानिक आयोगमा रिक्त रहेको ४० पदमा नियुक्त गर्नेबारे सोमबार तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

अख्तियारमा हाल दुई आयुक्त खाली रहेको र यसै महिना प्रमुख आयुक्त नविन घिमिरेले अवकास पाएपछि खाली हुन आउने तीनवटा पदाधिकारीमा ओली, दाहाल र देउवाबीच आफू अनुकुलका एक एक जना पठाउन तयार भएका हुन्। उक्त छलफलमा ओली, देउवा र दाहालसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेसका रमेश लेखक सहभागी थिए।

आम चुनावबाट सरकार गठन भएको साढे दुई वर्ष बितिसक्दासमेत संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त नगरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। अख्यितारमा ओलीले पूर्व गृहसचिव प्रेम राईलाई प्रमुख आयुक्त बनाउने तयारी गरेका छन्। सोमबारको छलफलमा अब संवैधानिक नियुक्तिमा ढिलाइ नगर्ने सहमति नेताहरुबीच भएका सहभागी एक नेताले जानकारी दिए।

छलफलका सबै आयोगमा भागवण्डा अनुसार नियुक्त गर्ने र नियुक्तिका लागि आवश्यक तयारी सकेर प्रधानमन्त्रीले छिट्टै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्