चितवन जिल्लामा लकडाउन कडाइ,मानव आवतजावत ठप्प
कलाखबर संवाददाता,३१ साउन– भरतपुर । काठमाण्डौं उपत्यका लगायत देशका अधिकांश भागमा शुक्रबार मध्यरातीबाट फेरि अघोषित रुपमा लकडाउन सुरु गरिएको छ । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएसंगै मानव आवतजावत समेत ठप्प नै भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् ।
निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म महानगरभित्र १०० जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् । महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको बताइन् ।