Logo

नारायण प्रसाद अधिकारीको ८९औं जन्मोत्सवको अवसरमा ‘हाम्रो बा’ पुस्तक विमोचन


 

कलाखबर संवाददाता,२७,साउन –काठमाण्डौं । नारायण प्रसाद अधिकारीको ८९औं जन्मोत्सवको अवसरमा ‘हाम्रो बा’ पुस्तक विमोचन गरिएको छ । सो पुस्तकमा अधिकारी परिवारका सर्वसम्मानित व्यक्ति ‘बा’ को जीवनमा आधारित सन्तती र शुभचिन्तकहरुको भावनाहरुको संग्रह समेटिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारी परिवारले उक्त पुस्तक विमोचन गरेका हुन् ।

सो पुस्तकमा ठूला पदमा पुगेका व्यक्तिहरुको चाकडीमा लेखिने भजनभन्दा आफ्नो ‘बा’ का बारेमा लेखिने यथार्थपरक भावहरु अर्थपूर्ण हुने अधिकारी परिवारका सदस्यहरुले बताएका छन् । कार्यक्रमका संयोजक हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत जनक अधिकारीले आफ्नो ‘बा’ का बारेमा लेखिएको पुस्तक विमोचन गर्न पाउनु सौभाग्य भएको बताए । यस्तो महामारीको बेलामा उपस्थितलाई धन्यवाद व्यक्त गर्दै, बुवाप्रति कृतज्ञ छु उनले भन्नु भयो ।

साथै उनले उक्त पुस्तकलाई साहित्यिक दृष्टिकोणबाट भन्दा भावनात्मक दृष्टिकोणबाट हेरिदिन आग्रह गरेका छन् । पुस्तकमा अधिकारीका आफ्ना आफन्तहरु ९६७० जनाले ‘बा’ का बारेमा विगतदेखि वर्तमानसम्म र बा’सितको यात्रालाई पुस्तकमा समावेश गरिएको छ । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि गोविन्द ज्ञवालीले ‘हाम्रो बा’ पुस्तकको विमोचन भएकोमा धन्यवाद अर्पण गरे ।

उनले भने,‘पुस्तक साहित्यकृत नभइ सपना र सम्झनाको संगम हो ।’ उक्त पुस्तकले सम्पूर्ण मानिसलाई जिम्मेवारीवोध गराउने विश्वास रहेको उनले बताए। ‘बा’ को जन्मदिनको अवसरमा बधाई र शुभकामना समेत उहाँले दिए । त्यसैगरी कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नारायणप्रसाद अधिकारीलाई बुवाको रुपमा सम्मान गरेको भाव प्रकट गरे ।

उनले भने,‘आजको यो सु–संस्कृत, सभ्य र भव्य सभामा आउँदा खुशी छु।’ आफू सानै उमेरबाट आमाको माया र ममताबाट बञ्चित रहेको स्मरण गर्दै धमला भावुक बनेका थिए । उनले आमाको मायाबाट बञ्चित भएपनि सदैव बुवाले आडभरोसा दिएको स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्