आजबाट सबै होटल व्यावसाय खुल्यो,व्यावसायी उत्साहित
कलाखबर संवाददाता,१५,साउन –काठमाण्डौं । आजबाट देशका सबै होटल व्यावसाय सञ्चालनमा आएका छन् । काठमाडौं, पोखरा र चितवनका होटल साउन १५ गतेबाट सञ्चालनमा आएपछि व्यावसायी उत्साहित बनेका छन् । स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने गरी होटल सञ्चालनमा ल्याइने होटल व्यवसायीले बताए। लकडाउनका कारण करिब साढे ४ महिनापछि होटल सञ्चालनमा आउने भएका छन्।
गत साउन ६ गतेबाट लकडाउन अन्त्यसँगै साउन १५ बाट होटल व्यवसाय सञ्चालनमा ल्याउने सरकारको निर्णयपछि होटल पुनः सुचारु गर्ने तयारीमा व्यवसायी जुटेका हुन्। पर्यटकीय हिसाबले अहिले अफ सिजन भएको र कोरोना जोखिम बढी रहेकाले पनि होटल आंशिक मात्रै खोलिने र आगामी सिजनको तयारी गरिने होटल संघ नेपाल(हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए।
बिहीबारबाट प्रायः ठूला तारे होटल सञ्चालनमा नआए पनि साना तथा मझौला र पर्यटकस्तरीय होटल खुल्ने तयारी भइरहेको छ। आगामी २ महिना होटल खोलेर आम्दानी हुनेभन्दा पनि सञ्चालन खर्च मात्र बढ्ने भएको भन्दै शाहले ठूला होटलको सञ्चालन खर्च बढी हुने हुँदा तत्काल खोली हाल्ने अवस्था नरहेको बताए। पाँचचारे होटलमा सांग्रिला खुल्ने भएको छ भने सोल्टी, मेरियटलगायत होटल लकडाउनमा पनि खुला थिए।
भदौ १ गतेबाट उडान खुलेपछि तारे होटल सञ्चालन आउने तयारी भइरहेको बताइएको छ। अहिले उडान पनि बन्द छन्, सिजन पनि छैन, अहिले खोल्दै गरेर एउटा लयमा ल्याउने र सेप्टेम्बर, अक्टुबरको पर्यटकीय सिजन तथा दसैं तिहारबाट आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा अनुरूप होटल सञ्चालनमा आउनेछन्’ शाह भन्छन्।
अहिलेलाई केही कर्मचारी बोलाएर होटलको सरसफाइ, सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाका ओरेन्टेसन कार्यक्रम सञ्चालन गरिने शाहले जानकारी दिए।