दुर्गेश थापाको भाइरललाई कसरी हेरेको छ दर्शकले
कलाखबर संवाददाता,१२,साउन–काठमाण्डौं । भाइरल’ अर्थात् चर्चाको माध्यम बनेको छ सामाजिक सञ्जाल । अझ कला क्षेत्रमा त ‘भाइरल’ नौलो विषय नै होइन । भाइरल हुनु कतिपयका सुखदायक भएको छ भने कतिपयका लागि यो पीडादायी पनि बन्ने गरेको छ । सकारात्मक विषयमा भाइरल हुँदा मानिस खुसी हुन्छ भने नकारात्मक विषयसँग जोडिएर भाइरल हुँदा मानिसले पीडा महसुस गर्दछ ।
नेपाली संगीतिक क्षेत्रकै कुरा गर्ने हो भने बालगायक गायिका प्रेम परियार, कमला घिमिरेलगायतका लागि भाइरल सुखदायक भएको छ । एकपटक भाइरल भएकै कारण यी कलाकारको जीवनमा ठुलै परिवर्तन ल्याइदिएको छ । पछिल्लो समयका हिट गायक दुर्गेश थापाको जीवन नियाल्ने हो भने यो भाइरल सुख र दुःख दुवैको कारण बन्न पुगेको छ ।
गतवर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर एकाएक भाइरल भएका थिए दुर्गेश थापा । रातारात भाइरल हुँदा उनलाई नाम र दाम मिल्यो नै, यो क्षेत्रमा समेत दर्बिलो पाइला गाड्न उनी सफल भए ।
‘बिच्च बिच्च’मा गीतको केही महिनापछि उनले अर्को गीत ल्याए ‘डन आयो डन’ यो गीतमा प्रयोग गरेका शब्दहरुको चौतर्फी आलोचना भयो । आलोचनाको कारणले नै सही, गीत रातारात हिट भयो र उनी फेरि भाइरल हुन पुगे ।