पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ठप्प भएको यातायात खुल्यो

कलाखबर संवाददाता,१०–धादिङ । अविरल बर्षाले बाढीपहिरो गएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलेको छ । सोमबारदेखि अवरुद्ध राजमार्ग खुलेसँगै साना सवारीसाधन खुल्न थालेका छन् । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो ।
चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका छन् । बाढीले भत्काएको भागमा डिभिजन सडक कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेको हो । पुलको मर्मतपछि मोटरसाइकल, साना चारपाङ्ग्रे सवारी र एम्बुलेन्सलगायत सवारी चल्न थालेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीका अनुसार मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका तर मर्मत कार्य सम्पन्न नभएकाले ठूला गाडीहरू चल्न दिइएको छैन । शनिबार बिहानबाट ठूला गाडी पनि चल्ने गरी मर्मतलाई अगाडि बढाइएको रेग्मीले बताउनुभयो । पुल मर्मतको काम चलिरहेको भएपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ ।
सोमबारको पहिरो पन्छाएर एकतर्फी बाटो सञ्चालन गरिए पनि बिहीबार रातिको वर्षापछि आएको पहिरोले सडकमा समस्या आएको रेग्मीको भनाइ छ । राजमार्गमा पहिरो जानेक्रम नरोकिएकाले गाडी चलाउँदा ओभरटेक नगरी संयमित र सजग भएर सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।