सबै सार्बजनिक यातायात चलाउन यातायात व्यावसायी तयार,कुरो मिल्यो भने साउन ७ बाट लामो दुरीमा पनि चलाउने
कलाखबर संवाददाता,३ साउन – काठमाण्डौं । सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । चर शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यावसायीहरुले बताएका छन् ।
सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए ।
अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै थन्किएका बसहरु चलाउन तयारी पनि सँगसँगै गरिने व्यवसायीले बताएका छन् । महासचिव सिटौलाले २(३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए । ‘यात्रुलाई हात धुने व्यवस्था कहाँ(कहाँ कसरी गराउने र यात्रुको भिड हुन नदिन बस स्टपहरुको व्यवस्थापन कसरी गर्ने ?
भन्ने लगायतका विषयमा यातायात व्यवस्था विभागले स्पष्ट गरेपछि हामी सवारी चलाउँछौं,’ उनले भने । सरकारले सार्वजनिक सवारीमा एउटा पंक्तिको एउटा सिटमा एक यात्रु मात्रै बस्ने मापदण्ड तोकेको छ । सहज वातावरण सहज बने साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीहरुको तर्क छ । यद्यपि सरकारले यसबारे केही भनेको छैन ।