Logo

आगामी सोमबारदेखि लगातार पाँच दिन भारी बर्षा हुने, सचेत रहन मौसमबिदको आग्रह


कलाखबर संवाददाता,२ साउन –काठमाण्डौं । आगामी सोमबारदेखि लगातार पाँच दिन भारी बर्षा हुने भएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका भू–भागमा भूस्खलन र पहिरो जान सक्ने मौसमबिदको भनाई रहेको छ । आगामी सोमबारदेखि पाँच दिन देशभरि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ । मनसुन सुरु हुनुभन्दा पहिलेदेखि नै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुऱ्याएको छ । गृह मन्त्रालयमा भएको कार्यक्रममा भू–गर्भविद् शिव बाँस्कोटाले जमिन चिरा परेको र रूखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे ।

पानीका मुहानहरू सुक्ने वा पहिलेभन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उनले आग्रह गरे । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपत् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखेको बताए ।

सरकारी र गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनको भनाइ छ । नेपालमा मनसुन सुरु भएको ३० दिन ९जेठ ३० देखि असार २७ सम्म० मा मनसुनजन्य विपतका घटनाबाट एक सय १० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंशलगायतका मनसुनजन्य घटनाबाट ३० दिनको अवधिमा एक सय १० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्