Logo

सिरानचोक गाउँपालिकाको केन्द्र यथा स्थानमा नै राख्न स्थानीयको माग


कलाखबर संवाददाता,२८,असार – गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाको केन्द्र पहिलेकै स्थानमा राख्न स्थानीयले माग गरेका छन् । हाल कायम रहेको छोप्राक मैदानमा अवस्थित केन्द्रलाई असार २४ गते बसेको कार्यपालिका बैठकले सिरानचोक गाउपालिका(५ चित्रेपोखरीमा सार्ने प्रस्ताव गरेका थिए । तर त्यो प्रस्तावलाई स्थानीयहरुले अस्विकार गरेका छन । कुनै पनि हालतमा गाउँपालिकाको केन्द्रलाई पहिलेकै स्थानमा राख्न् माग गर्दै आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् ।

सयौंको संख्यामा उपस्थित स्थानीय जनताले गाउँपालिकाको कार्यपालिकामा पेश भएको प्रस्तावको विरोध गर्दै हाल अस्थायी केन्द्र रहेको स्थानलाई नै स्थायी बनाउन माग गरेका हुन् । नागरिक समाजका संयोजक कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा गाउँपालिका केन्द्र पुगेको टोलीले विरोध प्रदर्शन गदै अध्यक्ष राजु गुरुङ समक्ष ज्ञापन पत्र बुझाएको हो । अहिले केन्द्र रहेको स्थानमै पालिकालाई पुग्ने जग्गा उपलब्ध गराउन स्थानीय तयार भएको पनि पत्रमा उल्लेख गरिएको छ ।

सो अवस्थामा केन्द्र परिवर्तन नगर्न माग गरिएको संयोजक पाखरेलले बताए । पटक पटक केन्द्र परिवर्तन प्रस्ताव गाउँसभाबाट अस्वीकृत भइसकेको अवस्थामा फेरि पनि प्रस्ताव ल्याइएकोमा सो प्रस्ताव तत्काल फिर्ता गर्न पनि ज्ञापन पत्रमा भनिएको छ । असार २४ को बैठकमा १३ सदस्यको समर्थनमा वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर थापाले वडा नम्बर ५ को चित्रेपोखरीमा केन्द्र राख्न प्रस्ताव गरेका थिए । तर वडा नम्बर ४ का अध्यक्ष दीपक हमाल र कार्यपालिका सदस्य शान्ति कुमालले साबिकको छोप्राकमै केन्द्र हुनु पर्ने भन्दै फरक मत दर्ता गराएका छन् ।

नेकपाबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष झटकप्रसाद दवाडी भने तटस्थ भूमिका देखिएका छन् । कार्यपालिका बैठकमा एकल प्रस्तावको रुपमा वडा नं ५ को चित्रे पोखरीलाई केन्द्रको रुपमा प्रस्तुत गरिएको स्थानीयको आरोप रहेको छ । सो प्रस्ताव गाउँसभाबाट दुईतिहाई बहुमतले अनुमोदन गर्नु पर्ने हुन्छ । यस अघिका बैठकमा चित्रे पोखरी, छोप्राक मैदान लगायत चार ठाउँ प्रस्ताव गरिए पनि कुनैले दुईतिहाई बहुमत ल्याउन सकेको थिएनन् ।

गाउँपालिकाको कार्यपालिका बैठकमा बहुमतको समर्थनमा प्रस्ताव पेश गरेपनि कांग्रेस भित्रै किचलोका कारण गाउँसभामा दुईतिहाई पुग्न सक्ने अवस्था छैन । ४३ सदस्यिय सिरानचोकको गाउँसभामा काँग्रेसको २८ सिट छ । समाजवादीले समेत बहुमतलाई समर्थन गर्ने बताएको छ । तर वडा नम्बर ४ का ५ जना चित्रेपोखरीको विपक्षमा रहेकाले उक्त प्रस्तावको अनुमोदनको लागि गाउँसभामा भने ३ सिट अपुग हुने बताइएको छ । अर्को असार ३१ गते गाउँसभा बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्