Logo

लगातार चार दिन भारी बर्षा हुने,सबैलाई सचेत रहन सरकारको आग्रह


कलाखबर संवाददाता,२५,असार–काठमाण्डौं । मुलुकभर आज बिहिबारबाट चार दिन लगातार भारी वर्षा हुने भएको छ । विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ । आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिक समेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ ।

गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताए । मन्त्री थापाले मुलुकभरका सबै निकायलाई हाई अलर्टमा रहनसमेत निर्देशन दिए । उनले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिए ।

गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिए । मौसमविद्का अनुसार आजदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ । प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गरे । विपद्को पुर्वानुमान गरिएको पहिलो दिन आज बिहान सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ ।

अन्य जिल्ल्लमा समेत बाढी, पहिरोका घटना भएका छन् । पानीको बहाव बढ्दो छ । वरिष्ठ मौसमविद् सुमन रेग्मीका अनुसार मनसुन सक्रिय भएर ठाउँठाउमा अहिले मध्यम पानी परिरहेको छ । अझै बढी वर्षा गराउने न्यूनचापीय रेखा भारतको विहार र उत्तरप्रदेशमा रहेकाले त्यो नेपालतर्फ आइरहेको रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्