सिन्धुपाल्चोक जिल्ला बाढीग्रस्त दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता

कलाखबर संवाददाता,२५ असार –काठमाण्डौं । सिन्धुपाल्चोक जिल्ला फेरि बाढीग्रस्त बनेको छ । बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएका छन् । तीनजनाको भने सकुसल उद्धार गरिएको छ । बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ ।
आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् । सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।
खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् । यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।