Logo

सोलुखुम्बुको दुधकोशी दिप्लीमा निर्मित बेलिब्रिज पुल एक महिना नपुग्दै भत्कियो, १ करोड ९६ लाख स्वाहा


कलाखबर संवाददाता,२५ असार –काठमाण्डौं । सोलुखुम्बुको दुधकोशी नदी दिप्लीमा निर्मित बेलिब्रिज पुल एक महिना नपुग्दै भत्किएको छ । अविर बर्षाको सुरुवातसँगै पानीको बहाब बढ्दै गएपछि पुलको पिलरमा लगाएको वाल भत्किएको हो । कुनै प्रयोग नै नगरी निर्माण भएको केही दिनमा नै पुल भत्किएपछि सरोकारवाला र स्थानीयले चासो राख्न थालेका छन् । सो पुल १ करोड ९६ लाख लागतमा निर्माण भएका हुन् । यही आगामी २७ गते सो पुल उदघाटन हुने कार्यक्रम थियो ।

तर उद्घाटन हुनु पूर्व नै पुल भत्किए पछि १ करोड ९६ लाख वालुवामा पानी खन्याएको जस्तै भयो भन्दै स्थानीय युवाहरुले दुखेसो पोख्न थालेका छन् । १ करोड ९६ लाख त झवाम भयो, अब यसको जिम्मा कसले लिने ? भन्ने प्रश्न उठ्न थालेको छ । पुलको वाल कुनै काम नै नलाग्ने गरि भत्किए पनि पिलरमा भने खाशै क्षती नभएको महाकुलुङ ३ निवासी स्थानीय युवा अम्बिर काजी कुलुङले कलाखबरलाई बताए ।

तर यस्तै अविरल बर्षाको कारण पानीको बहाव बढ्यो भने पिलरले पनि काम नगर्ने कुलुङले जानकारी दिए । पुल निर्माणको ठेक्का निश्चल निशानी निर्माण सेवाले पाएका हुन् । निश्चल निशानी निर्माण सेवा सञ्चालक सोताङ गाउँपालिका निवासी दुर्गा राईले सो पुल निमार्णको जिम्मा लिएको हो । निर्माण भएको छोटो समयमा नै पुल भत्किनुले ठेक्दारको लापवार्ही अर्थात ईन्जिनीयरिङको नापजाँचमा नै राम्रोसँग ध्यान नदिईएको प्रस्त बुझिएको छ ।

अधिकांश युवाहरुले यसको जिम्मा ठेक्दारले नै लिनुपर्ने बताएका छन् । बर्षौदेखि दुधकोशी पारीका सोताङ र महाकुलुङ गाउँपालिकामा बर्षातको समयमा यातायात आवतजावतमा अवरोध हुदै आएको थियो । अति आवश्यकताको रुपमा निर्मित पुलले स्थानीय जनतामा छाएको खुशी आखिर केही क्षणमा नै तुषारोपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्