चारवटा जिल्ला कोरोना मुक्त घोषणा,एकै दिनमा ६८८ जना संक्रमित डिस्चार्ज भएपछि आम नेपालीमा छायो खुशी
कलाखबर संवाददाता,२४ असार –काठमाण्डौं । देशका विभिन्न ठाँउमा कोरोनाको जोखिम बढीरहेका बेला चरवटा जिल्ला भने कोरोना मुक्त जिल्ला घोषणा भएका छन् । कोरोना मुक्त घोषणा भएका जिल्लाहरुमा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला रहेका छन् । अहिले संक्रमित संख्या केही घटेर निको हुने संख्या बढ्दै गएपछि आम नेपालीमा केही खुशी छाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको बताए ।
देशभरीका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् ।त्यस्तै मंगलबार देशभरी २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।