Logo

अहिले के काम हुदैछ,मेलम्ची सुरुङ भित्र ?


कलाखबर संवाददाता,२२ असार –काठमाण्डौं । अहिले मेलम्ची सुरुङ भित्र परिक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको छ । त्यो २६ किलोमिटरको सुरुङ भरिन १५ देखि २० दिन सम्म लाग्न सकिने मेलम्ची खानपानी आयोजनाका प्रमुख तिरेशकुमार खत्रीले बताए । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि र प्रतिसेकेन्ड २६० लिटरकै दरमा बाहिर पानी छोडिने छ र, सुरुङ खाली हुन १५ देखि २० दिन लाग्ने पनि खत्रीले जानकारी दिए । पानी सबै फालिसकेपछि सुरुङको गुणस्तर परीक्षण गरिनेछ ।

यसका लागि करिव ७ दिन लाग्नेछ । त्यसक्रमा कुनै केही समस्या देखिए त्यसलाई सम्बोधन गर्नुपर्छ । यसबारे अहिले अनुमान गर्न गाह्रो छ । र, यो सबै काम सकिएपछि मात्र नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ । यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न अबको दुईदेखि तीन महिना लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

साथै आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संरचना (हेडवर्क्स ) बनाइसकेको छैन । हेडवर्क्स २०७७ पुससम्म बनाउने गरी चिनियाँ कम्पनी सिनोले काम गरिरहेको छ । हेडवर्क्स बनाएर सुरुङमा पानी हाल्न अझै केही समय लाग्ने भएपछि नदीमा अस्थायी बाँध र डाइभर्सन बनाएर निर्माणाधीन हेडवक्र्स छल्ने गरी मूल सुरुङमा पानी हालिएको छ । यसले सुरुङमा बालुवा भरिन सक्छ ।मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकी बनेका छन् ।

मेलम्चीको पानी सुन्दरीजल झरेपछि ट्यांकी र पाइपलाइनको सफाइ र परीक्षण गनुपर्ने हुन्छ । चक्रपथ आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, समाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ । त्यसको पनि एक पटक परिक्षण गर्न आवश्यक रहेको छ । पानी खसेको एक वर्षसम्म वितरण प्रणालीलाई व्यवस्थापन गर्न समय लाग्ने आयोजना प्रमुख खत्रीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्