नेपालमा मनसुन सुरु,विभिन्न ठाउँमा बाढी पहिरोसँगै गाउँबस्ती डुबान

कलाखबर संवाददाता,१४ असार – काठमाण्डौं । नेपालमा मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । अविरल बर्षाका कारण ठाउँ ठाउँमा बाढी पहिरो जाने,ढिस्को खस्ने तथा पुल समेत भत्किने भएकोले सडक पनि अवरुद्ध भएको छ । शनिबार अत्याधिक रुपमा परेको पानीको कारण राजधानी काठमाण्डौंको तरकारी बजार पुरै डुबानमा परेको छ । व्यावस्थित डल निकास नहुदा कपनको तरकारी बजार जलमग्न भएको स्थानीयहरुले बताए ।
ब्यापारीहरुको पसल तथा सटरभित्र पानी पसेको थियो । सडकबाट बगेको पानी पुरै खोलाको बगर जस्तो देखिन्थ्यो । सडकबाट बगेको पानी तर्न यात्रुहरु निकै हम्मे हम्मे भएको देखिन्थ्यो । वर्षा सुरु भएसँगै तराईमा बाढी, डुबान र हिमाल तथा पहाडमा पहिरोको जोखिम बढेको छ । बाढी, डुबान र पहिरोलगायतका जोखिमका कारण बर्सेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।
यो वर्ष पनि वर्षा लागेसँगै ठाउँ–ठाउँमा बाढी, डुबान र पहिरोको समस्या देखिन थालेको छ । गत मंगलबार मात्रै पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भयो । बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले दर्जनौंले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।
गत वर्ष बाढी र पहिरोको कारण १ सय ५६ जनाले अनाहकमा ज्यान गुमाउनपर्यो । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको पछिल्लो एक हप्ताको विवरण हेर्ने हो भने २० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वर्षायाममा आउने बाढीले हरेक वर्ष ठूलो धनजनको क्षति गर्ने गरेको छ ।