देशभर ठूलो बर्षा हुने,सबैलाई सर्तक रहन मौसमविदको आग्रह

कलाखबर संवाददाता,९ असार–काठमाण्डौं । भोलि देखि केही दिन देशभर ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बुधबारबाट मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्षको मनसुन जुन १२ मा नेपाल भित्रिएर जुन २१ मा देशभरी फैलिएसँगै मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्न गई देशका सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार विशेष मौसमी बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ( ‘तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका अनुसार आज राति पनि सातै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, २, गण्डकी, ५ र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दै बाढीबाट सतर्क रहन सुझाव दिएको छ।