Logo

लकडाउनमा महँगो भाडा असुलेर यात्रु ओसार्ने तीन सवारीसाधन प्रहरीको नियन्त्रणमा


कलाखबर संवाददाता,८ असार काठमाण्डौं । लकडाउनका बेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएका तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाउन थालेको खुलेको हो ।

थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन जना सवारी चालकविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले  भने, ‘संक्रामक रोग ऐन, २०२० अन्तरगत तीनै जनामाथि कारबाही हुन्छ ।

श्रेष्ठका अनुसार आइतबार बाँकेको नेपालगञ्ज–६ घर भएका राहुल डबगर, सनुसरीका राकेश शाक्य, बाँकेका रुद्रबहादुर खत्रीविद्ध मुद्दा चल्ने भएको हो । डबगरले नेपालगञ्जबाट बा ४ ख ४५८० नम्बरको हाइस गाडीमा ८ जना यात्रु बोकेर काठमाडौंसम्म ल्याएका थिए भने शाक्यले १९ जना यात्रुलाई ना ५ ख ५८३४ नम्बरको यात्रुवाहक बसमा काठमाडौं ल्याएका थिए ।

खत्री १५ जना यात्रु लिएर नेपालगञ्जबाट ना ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा काठमाडौं आएका थिए । उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाइएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्