Logo

धार्मिक तथा पर्यटकीय क्षेत्र डहरे देउराली


भोलानाथ पौडेल, पर्वत, ३० जेठ २०७७
पर्वत र स्याङ्जा जिल्लाको सिमानामा पर्ने पर्यटकीय तथा धार्मिक क्षेत्र डहरे देउरालीले धेरै महत्व बोकेको छ । भौगोलिक र जैविक विविधताको मनोरम वाताबरणमा पथमार्ग हुँदै अर्थात् यातायातको साधनमार्फत रमाउदै पुग्न सकिन्छ । पर्वतको पुरानो व्यापारिक क्षेत्र मानिने कार्कीनेटाबाट करिब पाँच किलोमिटर दुरीमा रहेको उक्त क्षेत्रमा बर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले दर्शन गर्ने र रमाउने गर्दछन् ।
डहरेमा रहनुभएका पुजारी पशुपत्यानन्द गिरीका अनुसार उत्तराखण्ड निलकण्ठ पर्वतको शक्ति स्वरुपा काली देवी रहेको स्थानमा डहरा ऋषिले तपस्या गरेकाले डहरे नामाकरण हुन गएको हो । त्यसपछि केही समय खाली रहेको र पुनः खडानन्द ऋषिले करिब सैंतिस वर्ष त्यस क्षेत्रमा कठोर तपस्या गरेका थिए । वालानन्द करिब पच्चिस वर्ष र त्यसपछी आफू स्वयम् छयालिस वर्षदेखि मन्दिरमा बस्दै आएको उनले बताए ।
देवीका नौ स्वरुपहरुमध्ये यहाँ वागेश्वरी, वृषवाहिनी र व्रह्मचारिणीे स्वरुपको दर्शन गर्न सकिने गिरीले बताए । धार्मिक दृष्टिकोणले भन्दा त्यस क्षेत्रमा गएर देवीको मुर्तिमा गाईको दुध चढाएमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । तीर्थालुहरुले बिभिन्न किसिमका भाकल गरी देवीको पूजा गर्ने, परेवा उडाउने जस्ता कार्यहरु गरी धार्मिक सन्तुष्टि लिने गरेको पाइन्छ । विशेष गरेर विजया दशमीका दश दिन र बालाचतु्रदशी लगायतका पर्वमा ठूलो घुईचो लाग्ने गरेको छ ।

उक्त पर्वहरुमा देश तथा विदेशका तीर्थालुहरु यस क्षेत्रमा आउने गरेका छन् । चिताएको कुरा देवीले पुराउनु हुन्छ भन्ने धेरै तीर्थालुहरुले प्रतिक्रिया दिएको गिरीले बताए । यस्तो धार्मिक महत्व बोकेको धार्मिक क्षेत्रको प्रचार प्रसारमा कमी भएकोले यसलाई प्रचार प्रसार गर्न सरोकारवालाहरु सँग गिरीले मागसमेत गरेका छन् ।  धार्मिक दृष्टिकोणको महत्वका साथै रमणीय क्षेत्र रहेकोले आन्तरीक तथा बाह्य पर्यटक रमाउन आउने गरेको पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. एकका वडाध्यक्ष बावुराम शर्माले बताए ।

जैविक विविधता रहेको यस क्षेत्रमा विभिन्न किसिमका जडिबुटीहरुको उपलब्धता भए तापनि प्रयोगमा ल्याउन नसकिएको वडाध्यक्ष शर्माले बताए । डहरेको चुचुरो बाट गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य प्रदेशका जिल्लाहरुसहित आठ जिल्लाहरु देख्न सकिन्छ भने पथमार्गमा विभिन्न किसिमका चराचुरुङ्गीको आवज, शितल स्वच्छ हावा, मृग र खरायो जस्ता जनावरहरु देख्दै रमाउँदै डहरे देऊराली पुग्न सकिन्छ ।
चारैतिर जङ्गलको विचमा रहेको उक्त धार्मिक क्षेत्र नजिक पुराना खर्कहरु रहेका छन्, उक्त खर्कहरुलाई प्रयोग गरेर व्यावसायिक कृषि फार्म, रेष्टुरेन्टहरु तयार गर्न सकेमा पर्यटक व्यवसाय फस्टाउने देखिन्छ । यस क्षेत्रमा पर्यटकहरु बास बसेर मनोरम बातावरणमा रमाउन चाहेको धेरै पर्यटकहरुको प्रतिक्रिया दिनेगरेको अध्यक्ष शर्माले बताए । पर्यटकीय र धार्मिक दृष्टिकोणले उक्त क्षेत्रको विकास गर्न गण्डकी प्रदेश सरकारको चालिस लाखको योजनामा नमुना पदमार्ग निर्माणकार्य सञ्चालक गरिएको छ ।

यो पदमार्ग देशकै नमुना पदमार्गको रुपमा रहने छ र आवतजावतमा सहज हुने कारण पर्यटकहरु बढ्ने वडाध्यक्ष शर्माले दावी गर्नुभयो ।
यस आसपासका क्षेत्रको थप विकास गर्नका लागि लगानी मैत्री वातावरण सिर्जना गरी कार्कीनेटामा निर्माणाधिन शान्तिबाटिकाबाट डहरे देऊरालीसम्म केबुलकार र सामुदायिक जङ्गलमा खालि रहेका खर्कहरुमा रेष्टुरेन्ट खोलेर आवस्यक पर्ने अन्य पूर्वाधारहरुको विकास गर्न सक्ने हो भने यस क्षेत्रलाई पर्यटन जोन भन्न सकिने थियो । यस्तो वातावरण सिर्जना गरेमा पोखरा आएका अधिकांश पर्यटक यस क्षेत्रमा भ्रमण गर्ने निश्चित देखिन्छ र बाह्य पर्यटकको बसाईको समय समेत लम्बिन जान्छ, जसले देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्