Logo

महाकुलुङ गाउँपालिकाको तीव्र प्रगति,अन्तिम चरणमा पुग्यो  चक्रपथ निर्माणको काम


कलाखबर संवाददाता,३२ जेठ – काठमाण्डौं । महाकुलुङ गाउँपालिकाले छोटो समयमा तीव्र प्रगति गरेको छ । सिङ्गो महाकुलुङलाई फन्को लगाउने महाकुलुङ चक्रपथको काम अन्तिम चरणमा पुगेको हो । महाकुलुङ गाउपालिकाको ५ वटै वडालाई गाउपालिकाको केन्द्रसंग सडक संजालको एउटै कनेक्टिभिटिले जोड्ने यस चक्रपथ महाकुलुङ गाउँपालिकाको गौरवको योजना भनेको छ । अब यसको काम ३ किलोमिटर मात्र बाँकी रहेको पालिकाले जनाएको छ ।

बुङ ,पेल्माङ,छेस्काम, तुमाउ र वडा नम्बर ५ गुदेल चाचालुङलाई एउटै सडक संजालले जोड्ने चक्रपथ निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त चक्रपथको काम ३ किलोमिटर मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । अनुगमनका क्रममा गुणस्तरीय काम भएको उहाँको प्रतिक्रिया छ ।

अध्यक्ष किराँतीका अनुसार गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको चक्रपथले गाउँपालिकाका पाँचवटै वडा केन्द्रलाई छुनेछ । सोको दूरी ४१ किलोमिटर रहेको छ । २०७४ फागुनदेखि निर्माण शुरु भएको चक्रपथ सम्पन्न गर्न रु १० करोड लागत अनुमान गरिएको छ । सडकको निरीक्षणपश्चात केहिदिन भित्रै गौरवको आयोजनामध्यको एक चक्रपथ निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष किराँतीले बताउनुभयो ।

बाह्रै महिना सञ्चालन हुने जिकिर गरिएको चक्रपथ निर्माण भएपछि गाउँपालिका केन्द्र आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने नागरिकको बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिएको छ । बिचमा केहि बिबाद आएको भएपनि अहिले सबैको चित्त बुझाएर काम सम्पन्न लागेको उहाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्