Logo

यस वर्षको एसइई नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा निकाल्ने


कलाखवर संवाददाता,२८ जेष्ठ काठमाण्डौं । सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष  कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको छ । अव विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र  त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।

गत चैत ६ गते नै हुनुपर्ने  कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

यसअघि विभिन्न शिक्षासम्बन्धी संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो । तर सरकारले निर्णय गर्न ढिलाइ गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीमा तनाव सिर्जना हुँदै आएको छ । योसहित मन्त्रिपरिषद्को निर्णयहरु औपचारिक रुपमा बिहीबार मात्रै सार्वजनिक गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्