कुवेतबाट बिहीबार मात्रै उडान हुने, दुईवटा विमान काठमाण्डौ आउने
कलाखवर संवाददाता,२८ जेष्ठ काठमाण्डौं । भोलि (बिहीबार) कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।
उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन् । सबै प्रक्रिया टुंग्याएर भोलिका लागि दुई वटा उडान तय भएको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । बुधबार नै एउटा उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण भोलिबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन् ।
करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए ।
गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टाइन)मा पुगेका थिए ।
कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अपि्रल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए ।
पासपोर्ट हुनेहरू सिधै आश्रयस्थलमा जानसक्ने व्यवस्था थियो । भिसा अवधि सकिएका, रोजगारदाता परिवर्तन गरेर अवैध हैसियतमा बसेका सबैले आममाफी पाएका छन् । कुवेतका आश्रयस्थलहरूमा बच्चासहितका नेपाली महिलाहरू पनि छन् ।
कुवेत सरकारले त्यतिबेलै उनीहरूलाई आफ्नै जहाजमा काठमाडौं एयरपोर्ट ल्याइदिन तयार रहेको बताएको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएकाले समस्या भएको थियो ।
तर, अब सरकारले विदेशमा अलपत्रलाई ल्याउन प्रक्रिया सुरु गरेपछि कुवेतबाट पनि जहाज आउन अनुमति दिइएको हो । अब क्रमैसँग क्याम्पमा बसेका अन्य श्रमिक पनि नेपाल आउन पाउनेछन् ।