यूटयूबरहरुले गरेका नक्कली पत्रकारिता

राज कुमार राई ,२५ जेठ –काठमाण्डौं । पत्रकार आचार संहिता २०७३ को पहिलो संसोधन २०७७ दफा ५ अन्र्तगत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको बारेमा स्पष्ट पारेको छ । जस अन्र्तगत उपदफा ४ को १ मा पत्रकार वा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका ब्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्नेगरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन भनेर उल्लेख छ । तर यूटयूबरहरुले यसको कुनै हेक्का राख्दैनन् । रुकुम घटनामा यूटयूबरहरुले मृतकको शब भाइरल गराए ।
साथै नवराज विककी प्रेमिका भनिएकी युवतीको नाम र तस्विर सार्वजनिक मात्र गरेनन्, उनको पेटमा बच्चा भएको समेत घोषणा गरे । जवकी उनी प्रहरी हिरासतमा छिन, न उनको मेडिकल टेष्ट नै भएको छ । के यो गंभीर विषय हैन ? घटना त घट्यो, पुलिसले अनुसन्धान गर्दैछ, भोली अदालतमा यो विषमा व्यापक बहस हुन्छ र न्यायाधिसले फैसला गर्छन् । के यसरी यूटयूबबाट फैसला गर्न मिल्छ ? आचार संहिताको उपदफा ६ मा भनिएको छ, वीभत्स दृश्य र तस्विर प्रकाशन वा प्रशारण गर्न पाइदैन ।
जहाँ भनिएको छ, पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सिर्जित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिरहरु सम्प्रेशण गर्नुहुँदैन् । तर रुकुमको घटनामा यूटयूबरहरुले शब जलाइरहेको ठाउँमा पुगेर पनि उनीहरुले मृतकमा बाबुसँग कुरा मात्र गरेका छैनन् शवको विभत्स तस्विर दृश्य समावेश गरेर सन्त्रास र उत्तेजना फैलाएका छन् । पत्रकार आचार संहिता अनुसार पीडितलाई जबरजस्ती बोल्न दिनुहुदैन । तर माथी उल्लेखित सबै नियम यूटयूबरहरुले उल्लघन गरिरहेका छन् ।
अहिले यूटयूब सबैले चलाउछ,व्यक्ति नै पिच्छे छ आधिकारिक मिडिया तथा प्रत्रकारको पनि छ तर उनीहरु नियममा बाधँेर चलाउछन् । पत्रकार आचार संहिताको पालना गर्छन् । जनताले बिश्वास गर्ने र पत्याउने खालको शीर्षक तथा थम्बल राख्छन् । भित्री जस्तो सामाग्री छन् त्यस्तै बाहिरी शीर्षक पनि राख्छन् । तर यूटयूबरहरुले त्यस्तो गर्दैनन् । आफैले आफैलाई पत्रकार घोषणा गर्ने युटयूबरहरु अहिले स्वइच्छाले जतापनि पुग्छन् । चाहे बलत्कारको घटना होस् चाहे आत्महत्याको घटना होस् या त कुनै दुर्घटना नै किन नहोस् । उनीहरु खोजीखोजी त्यहाँ पुग्छन र मनपरी प्रश्न सोध्छन् ।
छिमेकी बटुल्छन्,आफन्तलाई खोज्छन् बाटोमा हिड्नेलाई समेत प्रश्न सोध्न ब्याउछन् । अनि अन्तिममा धामी, झाँक्री,माता र अनेक जोगीलाई समेत प्रश्न सोध्छन् र घटनाको बिषमा भविष्यवानी गर्न लगाउछन् । अनि फलानो घटनाको बारेमा फलानो माताले यस्तो भने, फलानो साधँुले यसरी घटनाको रहस्य खुलाए,छिटो हेर्नुस्, जस्ता भ्रमात्मक शीर्षक राखेर जनतालाई झुक्याउछन् । अहिले त यूटयूबरहरु मत्थर पत्रकार बन्न खोजेका छन् । कलाकारहरुको त अन्तरवार्ता लिन्छन लिन्छन अहिले त स्थानीय जनप्रतिनिध,मन्त्री,सिडिओ को समेत अन्तरवार्ता लिन थालेका छन् ।
कुनै साहित्यकारको पुस्तक तथा गीति एल्बम समेत यूटयूबरहरुले बिमोचन गर्न थालेका छन् । लकडाउनको अवधिमा पनि युटयूबरहरुले नियमको अवज्ञा गर्दै यूटयूबको अबैधानिक प्रेसकार्ड भिडेर प्रहरीको आँखामा छाडो हाल्न ब्याए । कतै राहत वितरणको निहँु,कतै पीडित उद्धारको निहँु, कतै आन्दोलनको निहँुमा उनीहरु कुनै आधिकारिक लोगो बिनाको प्रेस लेखेको हरियो ज्याकेटको भरमा खुल्ला सडकमा मस्टि गरिरहे । यस्तो अबैधानिक पेसालाई पत्रकारीता भन्ने कि ? यूटयूबकारीता भन्ने ? जनताको प्रश्न यहाँ निर छ ।