काठमाण्डौ उपत्यकामा गाडीको चाप बढ्यो

कलाखबर संवाददाता,२५ काठमाण्डौ -उपत्यकाका मुख्य सडकहरुमा गाडीको चाप बढेको छ ।
हिजो शनिबार र पानी समेत परेकाले उपत्यकाभित्र गाडीको चाप केही कम देखिए पनि आज अलि बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न ठाउँमा जाँचलाई पनि कडा पारेको छ ।
सरकारले गरेको लडकडाउनको निर्णय फेरबदल नभएको तर अरु दिनको तुलनामा चहलपहल केहि बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गाडी चलाउन पास प्राप्त भएकाहरु थपिदै गएको, उद्योग तथा कलकारखाना खुल्न थालेको, बैंकहरु पनि खुलेका, अत्यावश्यक सरकारी कार्यालयमा सेवा नरोकिएको, बाहिरी जिल्लाबाट समेत काठमाण्डौ भित्रने क्रम बढेको र विकास निर्माण तथा कृषि सामग्रीका गाडीलाई नरोकिएको हुँदा चहलपहल बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले बताउनुभयो ।
लकडाउनले जनजीवन र आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका कारण मानिसहरु लकडाउनको पर्वाह नगरी काममा निस्कन थालेका हुन् । सडकमा साना र निजी गाडीहरु अरु दिनको तुलनामा धेरै चलेका पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
तर लकडाउन नखुलेकाले अत्यावश्यक कामबाहेक र बिना पास चलेका ११ सय ५ वटा गाडीलाई होल्ड गरिएको उहाँले जानकारी दिनुभयो । बिहान ५ बजेदेखि ११ बजेसम्मको अवधिमा ती गाडी होल्ड भएका हुन् ।
गाडी चलाउने क्रम बढेपछि जाँच गर्नुपर्दा केहीबेर ट्राफिक जाम समेत हुने गरेको उहाँको दावी छ । सरकारले गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । कोभिड–१० रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।