Logo

प्रधानमन्त्रीद्वारा रचित गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली विमोचन


कलाखबर संवाददाता,२४ जेठ – भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गर्नुभयो । राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ ।

एल्बममा प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ । त्यस्तै पौडेलले रचना गर्नुभएको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिनुभएको छ ।

रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राजेश पायल राईले आवाज दिनुभएको छ । त्यस्तै विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पङ्गेनी र मेलीना राईले आवाज दिनुभएको छ ।

किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसङ्ग्रहमा आमोश तामाङको सङ्गीत संयोजन रहको छ भने एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईले सङ्गीत दिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिनुभएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा यहाँ रहेका ७० जनाभन्दा बढी सडक मानवलाई खाना खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्