Logo

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी आक्रमण


कलाखबर संवाददाता,२१ जेष्ठ– काठमाण्डौं ।  रुकुम पश्चिममा एक वडा अध्यक्षको नेतृत्वमा मंगलबार बेलुका प्रहरी पोष्टमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेका हो । आफ्नो नेतृत्वमा २०,२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जानकारी अनुसार अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।  प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीकोे हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्