Logo

लकडाउनका कारण व्यापार चौपट भएको भन्दै ब्यावसायी प्रर्दशनमा


कलाखब संवाददाता,२०,जेष्ठ– काठमाण्डौं । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन् । पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । कार्कीले भने, ‘लकडाउन उल्लंघन गरेकाले नियन्त्रणमा लिएका थियौं, अहिले छाडिसकेका छौं ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका थिए । छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको छ । नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताए । ‘हामीले पनि यसमा केही गर्न सक्ने अवस्था छैन, केन्द्रबाटै नयाँ निर्णयको पर्खाइमा छौं’, उनले  भने । अहिले नगरपालिकाका अधिकारीहरुले प्रदर्शनरत पक्षलाई सरकारले छिट्टै नयाँ निर्णय ल्याउने बताएर थुम्थुम्याउने प्रयास गरेका छन् ।
                                                       अन्य क्षेत्रका व्यवसायीले गुहार्न थाले प्रशासन

जोरपाटीमा मात्र होइन, उपत्यकाका विभिन्न क्षेत्रका व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रशासन गुहार्न थालेका छन् । उनीहरुले नजिकैको प्रहरी कार्यालयमा गएर लिखित निवेदन पनि बुझाएका छन् । यद्यपि, यस विषयमा निर्णय गर्ने अधिकार प्राप्त निकाय प्रहरी होइन । काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले भने, ‘बौद्ध, जोरपाटी, असनलगायतका क्षेत्रबाट डेलिगेसन आएको छ, हामीले प्रशासन कार्यालय जान सुझाएका छौं ।

लकडाउन बढ्दै जाँदा सर्वसाधारणबाट गुनासो आउने क्रम पनि बढेको उनी बताउँछन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । र, यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ । सरकारले भने लकडाउनलाई ३२ जेठसम्म बढाउने निर्णय गरिसकेको छ । यद्यपि, सरकारले निर्णयलाई थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्