Logo

लकडाउनमा थप कडाई गर्ने बेला आएको छ, देखासिकीबाट कमजोर नबनाऔं


भोलानाथ पौड्याल
फलेवास नगरपालिका–१, कार्कीनेटा, पर्वत ।

कोरोनाको कारण विश्व समुदाय मानवीय र आर्थिक क्षतिले थला परेको छ । अहिलेको जल्दोबल्दो बहस लकडाउन की लकडाउनको विकल्प खोज्ने भन्नेमा विश्वका विज्ञहरु केन्द्रित छन् । बहस चल्नु सकारात्मक पक्ष हो तर बहसबाट आएको निचोड सबै फाइदाजनक हुन्छन् भन्ने हँुदैन । कुन दृष्टिकोणबाट कस्तो प्रतिक्रिया आयो भन्ने बारेमा मुल्याङ्कन गर्न आवश्यक हुन्छ । विश्व समुदायले लकडाउनको विकल्प खोजिरहेको छ । विकल्प खोज्नु पनि अहिलेको आवश्यकता देखिन्छ तर विकल्पले कस्तो परिणाम दिन्छ भन्ने विषयमा पहिलेनै विश्लेषण गरेर कार्यान्वयन गर्नु अहिलेको आवस्यकता हो ।

छिमेकी राष्ट्र भारतले लकडाउनलाई केही खुकुलो बनाएको छ र अझ थप खुकुलो बनाउने संकेत देखाएको छ । भारतले लकडाउन खुकुलो बनाउनु भनेको नेपालका लागि थप चुनौति थपिनु हो भने भारतमा लकडाउन खुकुलो हुनुको गौढ उद्देश्य नेपालले विश्लेषण गरेर थप सतर्कता अपनाउनु आवश्यक देखिन्छ । एकातिर कोरोनाको त्रास त छँदै छ अर्कोतिर नेपालले पनि लकडाउनलाई केही कमजोर बनाउने हो की भनेर जनतामा त्रास भने देखिन थालेको छ । सबैले बुझेको कुरा हो लकडाउनले सीमित मानिसमा गास, आवतजावत लगायतका विषयमा दुख छाएको छ तर अधिकांश मानिसहरु यो दुखबाट अहिलेसम्म टाढा नै छन् भने सरकारका कार्य प्रणली पनि सन्तोषजनक नै देखिन्छन् ।

आजसम्म जे जस्तो रहेपनी लकडाउनलाई थप कडाईका साथ कायम राख्नु नै उचित देखिन्छ । नेपालमा कोरोना फैलिने दर बढ्दै गएको छ त्यसैले थप केही समय लकडाउनमा कडाईका साथ पालना गरेर गराएर समय कुर्नु नै अहिलेको लागि उत्तम विकल्प हो । स्थानीय तहमा लकडाउनको पालना गर्ने गराउनेमा त्यति प्रभाबकारी देखिदैँन यसलाई थप सुधार गर्नुपर्नेमा आवश्यक देखिन्छ । नेपालजस्तो राष्ट्रमा कोरोना भयाभह हुँदैगर्दा लकडाउनलाई खुकुलो बनाउने प्रयास सरकारबाट देखियो भने सरकारको कार्यसम्पादनमा समेत प्रश्न उठ्ने देखिन्छ । यदि विकल्प राज्ने हो भने सम्भावित विकल्पका बारेमा सघन अध्ययन हुन जरुरी छ ।

यातायातका साधनहरु बन्द गर्नुलाई मात्रै लकडाउन भनियो भने त्यो कालान्तरमा घातक बन्न सक्छ । बिशेष गरेर देशका नाकाहरुको चेकजाँचमा कडाइ गर्न आवश्यक देखिन्छ । अन्य राष्ट्रहरु सँग कुटनीतिक पहलमार्फत गैरआवसीय नेपालीको सुरक्षा गर्ने दायित्व पनि सरकारको रहन्छ । त्यसैले हरेक पक्षमा मानवीय अधिकारलाई हनन नहुने किसिमले सरकारले काम गरेमा सरकार सफल हुनेछ । अरु राष्ट्रले के गरे भन्दा पनि नेपालको भौगोलिक बनावट, स्वास्थ्य क्षेत्रको अवस्था, स्रोत र साधनको उपलब्धताका आधारमा भन्नु पर्दा लकडाउनलाई थप कडाई गर्नु नै उत्तम विकल्प देखिन्छ । त्यसैले छिमेकी राष्ट्रले अनुशरण गरेको बाटोलाई बिना अध्ययन पछ्याउनु केबल मुर्खताको परिणाम बन्नेन्छ ।

प्रतिक्रिया दिनुहोस्