Logo

फेरि सरकारले जेठ ३२ सम्म लकडाउन थप्यो,असार १६ गते सम्म उडान र सीमा पनि बन्द गर्ने निर्णय


कलाखबर संवाददाता,१८ जेठ – काठमाण्डौं । शनिबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ ३२ गते सम्म लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिए । साथै सरकारले असार १६ गते सम्म सबै उडान समेत बन्द गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाका समेत जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन तथा सीमामा थप कडाई गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले बताए । सरकारले सीमाको आवागमनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गर्ने सम्बन्धमा दुई देशबीच कुराकानी गर्ने निर्णय गरेको जानकारी खतिवडाले दिए ।

प्रवक्ता खतिवडाका अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलााई सरकारले जिम्मा दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोक्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो ।

त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो ।

कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो । यो अवधिमा बिदेशमा रहेका आफ्ना २५ हजार नेपाली नागरिकलाई समेत नेपाल ल्याउने सरकारले तयारी गरेको छ । कोरोना संक्रमित दिनानुदिन बढ्दै गएको अवस्थामा बिदेशबाट यति धेरै संख्यामा नेपालीहरु फिर्ता ल्याउने खबरले फेरि जनतामा ठूलो त्रास पनि छाएको छ ।

प्रतिक्रिया दिनुहोस्