Logo

अग्र मोर्चामा खटिएका सञ्चारकर्मीहरुको पत्रकार महासंघद्वारा स्वाब संकलन 


 

कलाखबर संवाददाता,७ जेठ –काठमाण्डौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काठमाण्डौंको आयोजनामा करिब १९१ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ । महासंघले अग्र मोर्चामा खटिएर काम गर्ने सञ्चारकर्मीको कोरोना भाइरस परिक्षणकालागि स्वाब संकलन गरिएको हो। सो क्रममा स्वाब संकलनका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति हार्दिक धन्यबाद व्यक्त गरे।

उनले स्वास्थ्य परिक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर समाचार संकलनमा खटिएका पत्रकार रहेको भन्दै परिक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गरे। त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अतिनै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने बताए। पत्रकारहरुको स्वास्थ्य सुरक्षा र कोरोना महामारीबाट बचाउन पत्रकार महासंघले गरेको यो असल कदमले सबै कर्मठशील पत्रकारहरुको मनोबल बढेको सरोकार टेलिभिजनका पत्रकार रमेश राईले बताए । साथै पत्रकार महासंघ र स्वास्थ्यकर्मीको असल कमले आफूलाई भावुक बनाएको र आँखाबाट आँशु आएको पनि राईले बताए ।

प्रतिक्रिया दिनुहोस्