मन्त्री र सांसदको पनि कोरोना परिक्षण सुरु,स्वाब संकलन गरिएका सांसदहरुले बैठकमा सहभागी हुन नपाउने
कलाखबर संवाददाता,२६,बैशाख–काठमाण्डौं । मन्त्री र सांसदहरुको पनि कोरोना संक्रमन परिक्षण सुरु गर्न थालिएको छ । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसदले दिउँसो ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने भएका छन् । संसद सचिवालयले शुक्रबार स्वाब संकलन गरिएका सांसदलाई बैठकमा नआउन जानकारी गराएको छ ।
शुक्रबार संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना कम रहेकाले उनीहरुलाई बैठकमा नआउन जानकारी गराइएको सचिवालय स्रोतले जनाएको छ । शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् ।
उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । संघीय संसदले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा सहभागी हुन पाउने निर्णय गरेको छ ।
बिहीबार स्वाब संकलन गरिएका २१२ सांसद र संसद सचिवालयका कर्मचारीसमेत गरी ४ सय ४० जनामा भने कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ ।