अब लकडाउन थप कडाइ हुने,सवारी पास भएका गाडीलाई समेत नो ईन्ट्री
कलाखबर संवाददाता,२३,बैशाख– काठमाण्डौं । सरकारले फेरि लकडाउन कडा गर्ने भएको छ । नेपालमा कोरोना संक्रमित संख्या बढ्न थालेसँगै उपत्यकामा सरकारले लकडाउन थप कडाई गर्ने भएको छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेध छ ।
”विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् ।
अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो । बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।
अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।
नागढुङ्गाको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताउनुभयो । “आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ”, श्रेष्ठले भन्नुभयो । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् ।
वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उहाँले बताउनुभयो । गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउनुभयो । उहाँले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।