झण्डै ११ वर्षको लामो प्रयासपछि दुई राजनीतिक धार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण
राज कुमार राई ,११,बैशाख–काठमाण्डौं । लामो समय झण्डै ११ वर्ष सम्म उल्टो दिशातिर धार फर्काएर बसेका दुई राजनीतिक धारबीच बुधबार एकीकरण भएको छ । अहिले यी दुई पार्टी एक भएर जनता समाजवादी पार्टी, नेपाल गठन भएको छ ।
प्राविधिक रुपमा अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भए पनि यी दुवै दल पछिल्ला खण्डमा आ–आफ्ना राजनीतिक धारमा विभिन्न दलसँग एकीकृत हुँदै यहाँसम्म आइपुगेका हुन् ।
समाजवादी पार्टीको एउटा मुख्य राजनीतिक भँगालो तत्कालीन मधेसी जनअधिकार फोरम थियो । त्यस्तै राजपा नेपाल बन्नु अघि मधेसमा सक्रिय विभिन्न ६ राजनीतिक दल आ–आफ्नो राजनीतिक अस्तित्वमा थिए । यी दुई फरक धारबीच ११ वर्ष अघिदेखि एकीकरणका लागि पहल हुँदै आएको थियो ।
तर एउटा वैचारिक धारको नेतृत्व गर्ने तत्कालीन मधेशी जनअधिकार फोरम कालान्तरमा नेपाल संघीय समाजवादी फोरम हुँदै समाजवादी पार्टी बन्यो । अर्को वैचारिक धारमा रहेका सद्भावना पार्टीका विभिन्न घटक, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै राष्ट्रिय जनता पार्टी बन्यो ।
आ–आफ्ना वैचारिक धारमा एकीकृत हुँदै राजनीतिक प्रभाव बढाए पनि दुई राजनीतिक धारबीचको एकता प्रक्रियाले ११ बर्ष पछि बल्ल सार्थकता पाएको हो ।