Logo

बुढानिलकण्ठ नगरपालिका स्थित एक महिलामा पनी कोरोनाको संक्रमण पोजिटिभ भेटियो


कलाखबर संवाददाता,४ बैशाख –काठमाण्डौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका स्थित एक महिलामा पनि कोरोना पोजिटिभ भएको पाइएको छ । बुधबार रयापिड डाइग्रोस्टिक टेष्ट(आरडीटी) गर्दा बुढानिलकण्ठ नगरपालिका स्थित वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनी इटलीबाट आएको खुल्न आएको छ । बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरडीटि विधिबाट कोरोना परीक्षण गरेको थियो ।

वडा कार्यालयमा गरिएको परीक्षणमा २२ दिन देखि होम क्वारेन्टाइन बस्दै आएकी उनमा र्यापिड टेस्टमा कोक्रममा कोरोना पोजेटिभ देखिएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए । ती महिलाको पीसीआर विधिबाट परीक्षणका स्वाब संकलन गरेर टेकु अस्पतालमा पठाइएको मेयर खरेलले बताए । टेकुबाट आउने रिपोर्टबाट मात्र आधिकारीक जानकारी आउने समेत मेयर खरेलले जानकारी दिए ।

महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्। उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए। त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ। बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी थिइन्।

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यस विरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्