Logo

४० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने नेपाल राष्ट्र बैंकको तयारी


 

कलाखबर संवाददाता,३० चैत्र–काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरु तथा गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी पाँच वर्ष अवधिको ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८२ निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले २०७७ बैशाख १ गतेदेखि उक्त बचतपत्र निष्काशन गर्न लागेको हो। बचतपत्र खरिदका लागि बैशाख १ गतेदेखि असार २१ गतेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले जनाएको छ।

बचतपत्रको निष्काशन भने २०७७ बैशाख २७ गते, जेठ २७ गते, र असार २७ गते हुने राष्ट्र बैकले जनाएको छ। बचतपत्रको साँवा भुक्तानी २०८२ बैशाख २८, जेठ २८ र असाढ २८ गते हुनेछ। वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६र६ महिनामा वार्षिक १० प्रतिशतका दरले व्याज भुक्तान गर्ने बताएको छ। बचतपत्रको अवधि ५ वर्षको रहेको छ।

उक्त बचतपत्र खरीदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन्। आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ।

आफूलाई पायक पर्ने तोकिएका वाणिज्य बैंकहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ। यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन्।

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ। बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिन्छ। आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न सकिनेछ।

     रिपोर्टस कलव नेपालबाट साभार

प्रतिक्रिया दिनुहोस्