Logo

संक्रमण फैलिन नदिन सरकार तयारी अवस्थामा छ : प्रधानमन्त्री


कलाखबर संवाददाता, २५ चैत्र–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेमा पूर्ण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काम र थप तयारीका बारेमा जानकारी दिए।

‘हामी अझै पनि उच्च जोखिममा छँदैछौं’, उनले भने। प्रधानमन्त्री ओलीले नेपाल कोरोना भाइरस विरुद्धको लडाइँमा होमिएको बताए। नेपालमा अहिलेसम्म ९ जनामा मात्रै संक्रमण भए पनि उच्च जोखिम कायमै रहेको उनले बताएका छन्।  उनले श्रमिक, व्यवसायी र विद्यार्थीमा लकडाउनका कारण परेको प्रभावप्रति आफू संवेदनशील रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले लकडाउनलाई पूर्ण पालना नगर्ने हो भने जोखिम अझै बढ्न सक्ने पनि बताए।

सीमित पूर्वाधार र स्वास्थ्य सामग्रीको सिमितताका बीच सेवामा खट्ने स्वास्थ्यकर्मीसहित राष्ट्रसेवकको भूमिका प्रसंशनीय रहेको उनले उल्लेख गरेका छन्।  प्रदेश र स्थानीय तहको भूमिका प्रभावकारी रहेको भन्दै जनप्रतिनिधिको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्। उनले स्थानीय समुदाय र सामाजिक संघसंस्थाको भूमिकाप्रति पनि उनले सम्मान व्यक्त गरेका छन्। नेपालमै कोरोना संक्रमण भएसँगै नेपाल दोस्रो चरणको जोखिममा परेको उनले बताए। प्रधानमन्त्री ओलीले रोकमथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति र सिसिएमसीले काम अघि बढाइरहेको बताए।

प्रधानमन्त्री ओलीले अबको २ साता नेपालका लागि उच्च जोखिमपूर्ण हुनसक्ने बताएका छन्। यसै हप्ताबाट प्रयोगमा ल्याएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमितहरुको पहिचानमा सहयोग गर्ने उनले बताएका छन्। सिसिएमसीले संभावित जोखिमपूर्ण जिल्लामा जनशक्ति परिचालन गरिसकेको पनि उनले बताए। उनले मुलुक दुई सातादेखि मुलुक लक डाउनमा रहेको बताउँदै त्यसबाट परिरहेको दुःखप्रति  सहानुभूति व्यक्त गरे। ‘महामारीका विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने हामी सबैलाई थाहा छ’, उनले भने।

उनले लकडाउनको बाँकी अवधिका लागि पनि धैर्यता र सहयोगका लागि अनुरोध गर्छु। उनले संकटको घडीमा जो जहाँ छौं त्यहीँ बस्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्