उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेल विरुद्ध अख्यितयारमा उजुरी, प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न माग
कलाखबर संवाददाता,२०,चैत्र–काठमाण्डौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री आयातमा ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार मुद्दा दायर गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध त्रिपाठीले मुद्दा दायर गरेका हुन् ।
उजुरीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र र ओम्नी बिजनेस समूहका सञ्चालकलाई समेत कारवाहीको माग गरिएको छ ।
प्रमाण नष्ट हुने भएकाले उपप्रधान तथा रक्षा मन्त्री पोखरेललाई तत्कालै हिरासतमा लिएर मुद्दा दायर गर्न उजुरीमा माग गरिएको छ । बजार मूल्यभन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डमा नपरेका किट खरिद भएको अनि सेटिङका आधारमा खरिद गरेर भ्रष्टाचार गरेको आरोप लगाएर त्रिपाठीले मुद्दा दर्ता गरेका हुन ।