Logo

कोरोना भाइरसको त्रासका कारण सोलुखुम्बु नाम्चे बजारको बन्द


 

कलाखबर संवाददाता,६,चैत्र–सोलुखुम्बु । कोरोना त्रासका कारण पर्यटकीय बजार नाम्चेका सबै होटल बन्द गरिने भएको छ । बिहीबार बसेको नाम्चे लज एण्ड होटल यशोसियशनको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने भएकाले शुक्रबारदेखि अनिश्चितकालीन होटल बन्द गर्ने निर्णय गरिएको यशोसियशनका अध्यक्ष मिङमा शेर्पाले बताए ।

कोरोनाको त्रास न्यून भएपछि सूचना प्रकाशित गरी होटल खुलाइने एशोसिएशन जनाएको छ । नेपाल सरकारले बुधबार सिनेमा हल, म्युजियम स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेको थियो । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो । धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गर्ने निर्णय पनि गरेको छ । साथै सरकारले होटेल, तथा सपिङ मलमा अनिवार्य सेनिटाइजरको व्यवस्था गरी टेबल कुर्सी, शौचालय र बार रेलिङमा किटाणुशोधन गर्नुपर्नेछ भने होटल र सपिङमलमा प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गर्नुपर्छ ।

पर्यटकीय सिजन सुरु भएसंगै कोरोनाले त्रास फैलाए पछि पर्यटन व्यावसायीहरु चिन्तामा परेका छन् । पर्यटकहरुको आवगमन कम भएसंगै विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्धार नाम्चे बजारका सम्पूर्ण होटल बन्द गर्ने घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्