प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव टुँडीखेलमा आयोजना हुने
कलाखबर संवाददाता,६,माघ–काठमाण्डौं । राजधानी काठमाण्डौंको टुँडीखेलमा काँठे लोक दोहोरी प्रतियोगिता महोत्सव हुने भएको छ । कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियानु नारासहित प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ।
काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले फाल्गुन १६ देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए। काँठ क्षेत्र भनेर चिनिने काठमाडौं आसपासका जिल्लामा लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, सांस्कृतिक धरोहर छन्।
तीमध्ये काँठे लोक गीत पनि एउटा महत्वपूर्ण विधा हो । मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडी भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडी, झाँकी, धिमेलगायत सागीतिक र सांस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थपमा व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोकदोहोरी गायक तथा सर्जक माधव थापाले बताए।
महोत्सव हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म चल्नेछ। महोत्सवकै क्रममा काँठे लोक दोहोरी प्रतियोगिता पनि हुने जनाइएको छ। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमश नगद रु ३ लाख, २ लाख, १ लाख, ५० हजार सहित मेडल, प्रमाण पत्र लगायत अन्य पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता अवधिभरमा उत्कृष्ट गायक र गायिका एकएक जनालाई नगद रु पाच हजार प्रदान गरिने आयोजक डिएआर मुभिजले जानकारी दिएको छ। कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुर्याएका श्रष्टालाई सम्मान गरिने जनाइएको छ। नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२०को प्रवर्धन गर्न समेत यो कार्यक्रमले सघाउने अपेक्षा गरिएको छ।