दोलखा जिल्लाको घुसखोरी सिडियो रिजाललाई पदबाट निलम्बन गराउने अख्तियारको तायारी

कलाखबर संवाददाता,२५,मंसिर–काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पदबाट निलम्बन गराउने तायारी गरेको छ । रिजाललाई पदबाट निलम्बन गर्न अख्तियारले गृहलाई पत्रचार समेत गरि सकेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी रिजाललाई निलम्बन गर्न गृहमा पत्र पठाइएको जानकारी गराएका हुन् ।
रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकाले पदमा बहाल रहँदा आफूविरूद्धको प्रमाण लोप गर्नसक्ने भएकाले निलम्बन गर्न पत्राचार गरिएको विज्ञप्तिमा जनाइएको छ। रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफूविरूद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धानमा बाधा व्यवधान पुर्याउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा ९३० बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरबारमा पत्र पठाइएको ,विज्ञप्तिमा उल्लेख छ।
दोलखामा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेको थियो । घुस लिएको आरोप लागेपछि मन्त्रालयले केही दिनअघि उनलाई कारबाहीस्वरूप जिम्मेवारीबाट हटाएको थियो। रिजाललाई गृहले अतिरिक्त कोटामा सामान्य प्रशासन मन्त्रालय सरूवा गरिसकेको छ। अख्तियारको पत्र प्राप्त भइसकेको छैन, पत्र पाउनासाथ निलम्बन हुन्छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने।