साग बिजेता खेलाडीलाई नगद पुरस्कार दिने प्रधान मन्त्रि ओलीको घोषणा,कसलाई कति कति पाउने भए पुरा विवरण सहित
कलाखबर संवाददाता,२५,मंसिर–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गरेका छन् । उनले खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा समेत गरे । ओलीले १३ औं सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि अझ बढी पदक ल्याउने प्रयासमा लाग्न खेलाडीहरुलाई सुझाव दिए ।
ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए । विगतमा एकमात्र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हुने रंगशाला रहेकोमा यसपटक तीन ठाउँका ठूला रंगशालाबाट अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सफल भएकोमा उनले सरकारको सफलतासँग जोडे ।
सरकारले खेल क्षेत्रलाई विशेष ध्यान दिएको भन्दै सातवटै प्रदेशमा नयाँ र भव्य रंगशाला बन्दै गर्नुलाई प्रगतिको संकेतका रुपमा लिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले गौरिका एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी र आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेको बताए । मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा समेत गर्न भ्याए ।
ठट्यौली शैलीमा प्रधानमन्त्रीले अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै भएको बताए । यसैबीच प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबभन्दा धेरै पुरस्कार पाउने भएकी छन् ।
प्रधानमन्त्री ओलीले गरेको घोषणाअनुसार सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कार दिइनेछ । यो हिसावले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन् । यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन् ।
रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले दिने घोषणा गरिएको छ । यसबाट गौरिकाले थप १२ लाख पाउँनेछिन् । यो दुवैको जोड्दा गौरिकाले ५६ लाख पाउँछिन् । गौरिकाले काँस्य पदक समेत जितेकाले अरु थप रकम समेत पाउँनेछिन् । यस्तै एक स्वर्ण पाउनेले ९ लाख, रजत पाउनेले ६ र कांस्य पाउनेले ३ लाख पुरस्कार पाउनेछन् ।