Logo

आज प्रतिनिधि तथा प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचन हुदै,४ लाख ५४ हजार ११४ ले मतदान गर्दै


कलाखबर संवाददाता,१४,मंसिर–काठमाण्डौं । रिक्त रहेको ५२ पदको लागि आज ४ लाख ५४ हजार ११४ ले मतदान गर्दैछन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य र स्थानीय तहको लागि बिहान ७ बजेबाट मतदान सुरु भएको छ । देशका विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । उपचिर्वाचनमा ३३७ उम्मेदवारले भाग लिइरहेका छन् ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभासदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना बनाइएको आयोगले उल्लेख गरेको छ । अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ ।

निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन भई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्