बलात्कारको आरोपमा नेता इन्द्रहाङ राई पक्राउ

कलाखबर संवाददाता,१२ कात्तिक- प्रहरीले बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययरत् छन् ।
महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘अहिले हिरासतमा राखेका छौं । अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप्छौं ।’
पीडितका अनुसार राईले देउसी खेल्न भनेर बोलाएर माकलबारीमा उनीमाथि जबरजस्तीकरणी गरेका थिए । उनको सोमबारै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । अपरान्ह करिब ३ः३० बजे राईले उनका आफन्तको कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ ।
अनुसन्धान अधिकृतका अनुसार, पीडितकी दिदी राईका साथी हुन् ।