‘सूर्य इन्टरनेशनल अवार्ड २’ का टप ३ सार्वजनिक
कलाखबर संवाददाता,७ कात्तिक–‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो शृङ्खलामा टप ३ मा पर्न सफल प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ ।
राजधानी स्थित एपीएफको मुख्यालय हल चोकको हलमा सार्वजनिक गरिएको टप ३ समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल , चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई , निर्माता सङ्घका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले , कलाकार प्रशान्त ताम्राकार , श्वेता खड्का , भुवन केसी , किरण केसी , सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , निर्देशक दीपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।
टप ३ लाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै शैलेन्द्र खनालले नेपाली फिल्मको टेवामा यस्ता कार्यक्रमले सहयोग गर्ने बताएका छन् ।
फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइयो । यस पटक ६ फिल्म र ६ सङ्गीतका विधालाई समेटिएको छ । नोमिनेशनलाई परेकालाई आयोजककै व्यवस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी दिइयो ।
अवार्ड अगाडी जापानमा साताव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिने र स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू राखिने तथा पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडिया कर्मी सहभागी हुने समेत जानकारी कार्यक्रममा दिइयो ।
अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका फिल्म कर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्म कर्मीलाई फिल्म कर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । दर्ता आव्हान गरिएको मितिसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो ।